२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

जाजरकोट पहिरो: ९ जनाको मृत्यु, ६ बेपत्ता

  • २०७७ अषाढ २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • सुर्खेत- जाजरकोटमा पहिरोमा परी बेपत्ता भएका ८ जना मध्ये शनिबार दुई जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ पुगेको छ भने ६ जना अझै बेपत्ता छन् ।

    जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्तामध्ये ७ जनाको शव शुक्रबार भेटिएको थियो भने शनिबार थप दुई जनाको भेटिएको हो ।

    शनिबार बारेकोट गाउँपालिका–४, सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको सब फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

    बारेकोट गाउँपालिका–४ का ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तिर्खा सार्की र कलुको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्कीको शव शुक्रवार नै भेटिएको थियो ।

    बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका–४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।

    शुक्रबार नै स्थानीय खोलामा बगेका बारेकोट– ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि भेटिएका छैनन् । सोही दिन खहरे खोलामा बगेका जुनिचाँदे गाउँपालिका–१ का डिल्ली चुनारा पनि बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते भएका बारेकोट–४ का लालबहादुर नेपाली, बारेकोट–६ का रामचन्द्र चलाउने र विज्ञान बोहरालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए  ।

    बरेकोटमा आइतबार बिहान सम्मा पनि वर्षा रोकिएको छैन । जसले गर्दा बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको गाउँपालिकाका अध्यक्ष शाहले बताए ।

    नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५० जना अधिकारी बेपत्ताको खोजीमा जुटेका छन् भने झण्डै डेढ सय जना जनप्रतिनिधि र स्थानीय उद्दारमा खटिएको डीएसपी श्रेष्ठले बताए । -Onlinekhabar

    प्रतिक्रिया दिनुहोस