२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

ओखलढुंगामा करदाता सेवा कार्यालय

  • २०७७ श्रावण १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा करदाता सेवा कार्यालय खुलेको छ । आज साउन १ गतेबाट कार्यालय सञ्चालनमा आएको हो ।
    करदाता सेवा कार्यालय खुलेसँगै ओखलढुंगा र सोलुखुम्बुका करदातालाई सहज भएको छ । दुई जिल्लाका करदातालाई पायक पर्नेगरी ओखलढुंगा सदरमुकाममा करदाता सेवा कार्यालय स्थापना भएसँगै कर तिर्नका लागि सिरहाको लहान जानुपर्ने बाध्यता हटेको छ ।
    करदाता सेवा कार्यालयले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका बाहेक ओखलढुंगा र सोलुखुम्बु दुई जिल्ला हेर्ने गरी स्थापना भएको करदाता सेवा कार्यालयका कर अधिकृत कुसुम सिर्मलले जानकारी दिए ।
    कार्यालयले व्यक्तिगत स्थायी लेखा नम्बर, व्यवसायिक स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि कर दर्ता, अन्त शुल्क दर्ता एवं इजाजत पत्र वितरण÷जारी तथा नवीकरण, स्थायी लेखा नम्बर लिँदाको विवरण÷जानकारी संशोधन तथा कारोबार÷शाखा थपघट, मूल्य अभिबृद्धि करण विवरण अन्त शुल्क विवरण र आय विवरण रुजु, कर चुक्ता प्रमाणपत्र, कर समायोजन, स्थायी लेखा नम्बर स्थगन र खारेजी, खरिद खाता बिक्री खाता प्रमाणितलगायतका १४ प्रकारका सेवा दिने सिर्मलको भनाई छ ।
    करदाता सेवा कार्यालयको शुभारम्भ सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले करदाता सेवा कार्यालयको पान प्रमाणपत्र भित्तामा झुण्ड्याएर गरेका थिए । उनले करदाता सेवा कार्यालय ओखलढुंगामा स्थापना भएकोमा खुसी व्यक्त गरे । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले करदाता सेवा कार्यालयले जनमैत्री तरिकाले सरल र सहज तरिकाले सेवा प्रवाह गर्न सुझाए । उनले सबै सरोकारवाला पक्षहरुसँग समन्वय गरेर अगाडि बढ्न निर्देशन दिए ।
    यसअघि जिल्लाका व्यवसायीहरुलाई २०७१ सालबाट आन्तरिक राजश्व विभागसँगको सहकार्यमा ओखलढुंगा उद्योग वाणिज्य संघले व्यक्तिगत स्थायी लेखा नम्बर, व्यवसायिक अस्थायी लेखा नम्बर दर्ता, नवीकरणलगायतका करसँग सम्बन्धित विषयमा व्यवसायीहरुलाई सहजीकरण गर्दै आएको थियो ।
    करदाता सेवा कार्यालय सञ्चालनमा आएपछि ओखलढुंगा र सोलुखुम्बुका व्यवसायी उत्साहित भएको ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए । ’हाम्रो लामो समयदेखिको माग पूरा भएको छ,’ अध्यक्ष मास्केले भने, ’२ हजार ५ सय कर तिर्न पनि १५ हजार रुपैयाँ खर्चेर लहान जानुपर्ने बाध्यता हटेको छ ।’
    ओखलढुंगामा ५ हजार ६ सय ५२ करदाता रहेका छन् । यस्तै सोलुखुम्बुमा ४ हजार ६ सय १० करदाता रहेको कार्यालयका डायसु सचिनदेव भट्टराईले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस