२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

सीतापाइलामा युवतीलाई एसिड हान्नेहरु पक्राउ

  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- काठमाडौंको सीतापाइलामा  ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन् ।

    उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् ।

    बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।

    भारत भाग्ने योजना

    एसिड प्रहार भएको घटना सार्वजनिक भएलगत्तै प्रहरीले काठमाडौं उपत्यकाका सबै नाका बन्द गरी हुलिया परिपत्र गरेको थियो ।

    मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको खुलेको छ । युवती र मोहम्मदबीच काठमाडौंको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो । मोहम्मदलाई ती युवतीले चिन्ने भएकाले उनले मुन्नालाई एसिड हान्न लगाएका थिए । आफू भने अलि परै बसे ।

    त्यसपछि मुन्नालाई मोटरसाइकलमा राखेर उनले डल्लु लगेका थिए । रातारात मुन्नालाई भारत भगाउने योजना बनाइएको थियो । तर उनीहरु उम्किन पाएनन् ।

    प्रतिक्रिया दिनुहोस