२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
काेराेना कहर

उपत्यकामा फेरि लकडाउन !

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं– कोरोना संक्रमण तिब्र फैलिन थालेपछि काठमाडौं उपत्यकामा फेरि कडा खालको लक डाउन गर्ने सरकारले तयारी गरेको छ । उपत्यकामा पछिल्ला केहिदिनदेखि एकाएक संक्रमित बढेपछि महामारीको ‘इपिसेन्टर’ बन्ने खतरा भएको भन्दै यस्तो तयारी गरिएको स्रोतले जनाएको छ ।

    सरकारले गत ११ चैतदेखि घोषणा गरेको लकडाउन ६ साउनबाट अन्त्य गरेको थियो । हाल बजार, छोटो दूरीका सार्वजनिक यातायात, उद्योग, कलकारखाना र सरकारी कार्यालय खुलेका छन् । लकडाउन खुलेसँगै मानिसहरुमा सचेतनाको पक्ष कमजोर देखिँदा संक्रमणको जोखिम उच्च भएको छ । पछिल्लो समय उपत्यकामा दैनिक ५० जना हाराहारीमा संक्रमित देखिन थालेका छन् ।

    स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले अबका केहिदिनको संक्रमितको अवस्था हेरेर पुनः लकडाउन गर्नुपर्ने मनस्थितिमा पुगेका छन् । उच्च सरकारी अधिकारीहरुले पनि लकडाउन फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले तयारी गर्दै गर्नुपर्ने सुझाव प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा दिन थालेका छन् ।

    सरकारले परिक्षण घटाएको र जनताले सचेतना अपनाउन नसकेको अवस्थामा सबैतिरबाट लकडाउन गर्नुपर्ने सुझावहरू आएको बताइएको छ । कतिपय विज्ञहरूले काठमाडौं उपत्यकामा कोरोना संक्रमण भुसको आगो जस्तै फैलिएको र सरकारले परिक्षणमा उदासिनता देखाएको आरोप लगाइरहेकाे हिमाल पाेष्टले खबर लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस