२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

घुर्मीमा होल्डिङ सेन्टर र कोरोना अस्पताल माग

  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– उदयपुरको घुर्मीमा होल्डिङ सेन्टर स्थापना गर्न सांसदहरुले माग गरेका छन् । उनीहरुले पूर्वी पहाडका ओखलढुंगा, सोलुखुम्बु र खोटाङ तथा उदयपुरको पूर्वी भेगका लागि छुट्टै होल्डिङ सेन्टर आवश्यक रहेको सांसदहरुको भनाइ छ ।

    चार जिल्लाका प्रदेश सांसद तथा पूर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङसहितले मुख्यमन्त्री समक्ष माग गरेका हुन् ।

    उनीहरुले भारत लगायत विदेशबाट आउने नागरिकहरुलाई कोरोना परिक्षण तथा घरसम्म लैजानका लागि छुट्टै होल्डिङ सेन्टर आवश्यक रहेको भन्दै मुख्यमन्त्री शेरधन राईलाई माग पत्र बुझाएका छन् ।

    प्रदेश १ मा सुनसरीको चतारामा एक मात्र होल्डिङ सेन्टर छ । पहाडका जिल्लामा आउने नागरिकलाई अपायक परेकाले घुर्मीमा होल्डिङ सेन्टर आवश्यक रहेको सांसद मोहन खड्काले बताए ।

    सांसदहरुले पहाडका ओखलढुंगा, सोलुखुम्बु र खोटाङ तथा उदयपुरको पूर्वी भेगका नागरिकका लागि उपयुक्त ठाउँमा कोरोना अस्पताल विकास गर्न पनि माग गरेका छन् ।

    राज्यमन्त्री तथा सांसदहरुको माग कार्यन्वयनमा लैजान मुख्यमन्त्री राईले मुख्य सचिवलाई निर्देशन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस