२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

भारत बाहेक २० हजार ३१ नेपाली स्वदेश फिर्ता

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  भारतबाहेक अन्य मुलुकबाट नेपाली नागरिक स्वदेश फिर्ता आउने क्रम बढेको छ । असार २२ गतेसम्म २० हजार ३१ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।
    कोभिड–१९ सङ्क्रमणका कारण विदेशका विभिन्न मुलुकमा अलपत्र परेका नेपाली स्वदेश आउने क्रममा सोमबार मात्र ८७८ जना नेपाली नागरिक स्वदेश फर्केको कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टरले जानकारी दिएको छ ।
    जस अनुसार बहराइनबाट १४८ जना, कुवेतबाट ३१६ जना, साउदी अरबबाट २५९ जना र मलेसियाबाट १५५ जना नेपाली स्वदेश फर्केका छन् । जसमध्ये उच्च ज्वरो आएका एकजनालाई एयरपोर्टबाट सीधै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ ।

    प्रदेशगत रुपमा सबैभन्दा धेरै बाग्मती प्रदेशका छ हजार १०४ जना नेपाली नागरिक स्वदेश फर्किएको सेन्टरले उल्लेख गरेको छ । त्यसपछि प्रदेश नम्बर १ का तीन हजार ७२९ जना, प्रदेश नम्बर ५ का तीन हजार ३९१ जना स्वदेश फर्केका छन् ।

    त्यसैगरी, प्रदेश नम्बर २ का दुई हजार ९८४ जना, गण्डकी प्रदेशका दुई हजार ४२९ जना, सुदूरपश्चिम प्रदेशका ४६० जना र कर्णाली प्रदेशका ४०८ जना नेपाली नागरिक स्वदेश फर्केका छन् ।

    सोमबार स्वदेश फर्केका नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणसँगै व्यक्तिगत विवरण सङ्कलन गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस