२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

प्रदेश १: प्रहरी दरबन्दी ११ हजार थप्ने प्रस्ताव

  • २०७७ अषाढ २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर- प्रदेश १ सरकारले प्रदेशमा ११ हजार प्रहरी दरबन्दी रहने गरी प्रदेश प्रहरी विधेयक संसदमा पेस गरेको छ । सरकारले पेस गरेको विधेयकमा अतिरिक्त दुईवटा वरिष्ठ पद रहने प्रस्ताव गरिएको छ ।

    संघबाट समायोजन भएर आउने प्रहरीका लागि प्रहरी वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक पद थप गर्ने प्रस्ताव गरिएको छ ।

    मंगलबार प्रदेश १ को प्रदेशसभा बैठकम प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट मन्त्री हिक्मत कार्कीले संसदमा प्रदेश प्रहरी विधेयक पेस गरेका हुन् ।

    विधेयक पेस गर्दै कार्कीले संघबाट ११ हजार प्रहरी समायोजन भएर आउने र सोही अनुसारको प्रदेशमा दरबन्दी कायम हुने बताए । समायोजन प्रक्रिया चैत्रबाट सुरु गर्ने भनिए पनि लकडाउनको कारण अगाडि बढ्न नसकेको उनले बताए ।

    नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको सञ्चालन र सुपरिवेक्षण संघीय कानुन बमोजिम हुने व्यवस्था छ । मन्त्री कार्कीले संघीय कानुन अनुसारसँग नबाझिने गरी प्रदेशको कानुन ल्याएको बताए ।

    संघबाट प्रहरी समायोजन भएर आउनु अघि नै ऐन निर्माण भएको अवस्थामा प्रहरी परिचालन गर्न सजिलो हुने कार्कीले बताए ।

    प्रतिक्रिया दिनुहोस