२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

कांग्रेसमा ब्यूँतियाे १२ भाइकाे माेर्चा; देउवालाई दिए यस्ताे चुनाैति

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनको संघारमै आएर पार्टी संस्थापन पक्षले एकलौटी रुपमा विभाग गठन र पदाधिकारी मनोनयन गर्न थालेपछि पार्टीका युवा नेताहरु आक्रोशित भएका छन् । साथै, जनभावना विपरित बुढा पुस्ताका नेताहरु चल्न थाले अब आफूहरु नै नेतृत्व सम्हाल्नसमेत तयार रहेको पनि प्रष्ट पारेका छन् ।

    पार्टीका युवा केन्द्रीय सदस्यहरुले महाधिवेशन प्रक्रिया प्रारम्भ भइसकेपछि सभापति शेरबहादुर देउवाले गरेको विभाग गठन र मनोनयन आचारसंहिताको समेत खिलाफ भएको भन्दै तत्काल फिर्ता लिन आह्वान गरिएको छ । पार्टी केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, कमला पन्त, गगनकुमार थापा, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ– बिशेष परिस्थितिको सुविधा प्रयोग गरेर एक बर्ष कार्यकाल थपिएपनि अब आगामी फागुन भित्र कुनैपनि हालतमा महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्थामा एकलौटी रुपमा विभाग गठन र पदाधिकारी नियुक्तिले राम्रो सन्देश दिएको छैन । पार्टी भित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै नेता कार्यकर्ताबीच सुमधुर तथा हार्दिक सम्बन्ध बनाउनु पर्ने बेला सभापतिबाटै यस्तो अपरिपक्व र पूर्वाग्रही काम गरिनु दुर्भाग्यपूर्ण भएकाे भन्दै विज्ञप्तिमा पार्टी भित्र देखिएका विवाद र तिक्ततालाई निमिट्यान्न पारी भावनात्मक एकता कायम गर्ने अभिभारा सबैको साझा कर्तव्य भएको पनि उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा युवा नेताहरुले उल्लेख गरेका छन्– नेपाली कांग्रेस युवा पुस्तासँग टाढिएको अवस्था छ, तनावग्रस्त भई बिरक्तिएर बसेको छ र समकालिन राजनीतिप्रति घृणाभाव झल्किन्छ । आगामी महाधिवेशनले यी सबै पक्षलाई आश्वस्त तुल्याउदै लोकतन्त्रको भविष्यलाई सुरक्षित बनाउने ऐतिहासिक जिम्मेवारीसमेत कांग्रेसको काँधमा छ । यसका लागि पनि नेतृत्वकै अग्रसरता आवश्यक देखिन्छ ।

    समयको पदचाप, नेता कार्यकर्ताको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्नु हाम्रो कर्तव्य र दायित्व पनि हो भन्दै विज्ञप्तिमा तर यो जिम्मेवारी र गौरवशाली इतिहास जोगाउन आफूहरु असमर्थ रहेको पनि युवा नेताहरुले आत्मवोध गरेका छन् ।  विज्ञप्तिमा भनिएको छ – आम जनतामा हामीप्रतिको भरोसा कमजोर हुदै गएको छ, पार्टीको गौरवपूर्ण छवि ,व्यक्तित्व र क्रान्ति नै ह्रासोन्मुख हुँदैछ । नेताहरुले रचेको गौरवगाथालाई जगर्ना गर्नसमेत असमर्थ भएका छौं, यसले अराजकतालाई मलजल गरिरहेको छ ।

    लोकतन्त्रको विधिसम्मत बाटो छाडेर गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेकामा खिन्नता प्रकट गर्दै युवा नेताहरुले भनेका छन– पार्टी सभापतिको पछिल्ला कदमले आम कार्यकर्तामा निराशा र आक्रोश थप्ने काम गरेकाे छ ।

    सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्तासमेत रहेको स्मरण गराउँदै विज्ञप्तिमा कांग्रेसको गौरवपूर्ण इतिहास बचाउने दायित्वसमेत सभापतिकै काँधमा छ, कस्तो कांग्रेस बनाउने,विधि पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी कसरी हस्तान्तरण गर्ने भन्ने दायित्व पनि उहाँकै हो ।

    सभापति व्यक्ति नभएर संस्था हो, उहाँसँग पार्टीलाई गुट उपगुटमा बिभाजित रहनदिएर कांग्रेसको इतिहास,बिरासत , परम्परा र पद्दतिलाई उल्लंघन गर्ने सुविधा छैन, अस्वस्थ भागबण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील साथीहरुलाई समान अवसर र न्यायबाट बञ्चित गर्ने अधिकार पनि छैन, सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन, समकालीन नेताहरु र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिड्ने सुविधा र विशेषाधिकार पनि उहाँसँग छैन – विज्ञप्तिमा स्पष्ट उल्लेख छ ।

    युवा नेताहरुले विगत १२ औं महाधिवेशनपछिको घटनाक्रमलाई समेत विज्ञप्तिमा समेटेका छन् । जसअनुसार, तत्कालीन सभापति सुशील कोइरालाले विभागहरु गठन गर्दा वर्तमान पार्टी सभापति देउवाले राखेको तर्क र असहमतिलाई सम्मान गरी निर्णय फिर्ता लिइयो स्मरण गराइएको छ ।  अनि अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरु कसरी बैधानिक र उपयुक्त हुन सक्छन् ? युवा नेताहरुको प्रश्न छ ।

    महाधिवेशन सम्पन्न भएको दुईमहिनाभित्र गरिनुपर्ने विभाग गठनको काम तत्काल किन भएन ? हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष , विश्वसनीय र भब्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र ? हामीले बनाएका विभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने ?

    महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टीका साथीहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? उनीहरुको साझा जिज्ञाशा छ ।

    सभापतिको यस्तो कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ भन्दै उनीहरुले पछिल्ला सबै नियुक्तिहरु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन भएकाले तत्काल रोकिनु पर्छ र गठन गरिएका औचित्यहिन विभागहरु खारेज गरिनुपर्छ भनिएको छ ।

    यसबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुनसक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,यो सन्दर्भमा स्पष्ट हुनका लागि सबैलाई आग्रह समेत गर्दछौं भन्दै विज्ञप्तिमा अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफसहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यकता परे आफूहरु नेतृत्व लिन समेत तयार रहेको उद्घोष गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस