२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
एकातिर काेराेना, अर्कातिर पहिराे !

ओखलढुंगा: सदरमुकाममै आयाे पहिराे, तर कसैले देखेनन् !

३० वर्षदेखि पहिरोको चपेटामा चैनपुरे गाउँ

  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– सिद्धिचरण नगरपालिका वडा नं १२ स्थित गोगुने गाउँको चैनपुरे टोल ३० वर्षदेखि पहिरोको चपेटामा छ । पहिरोका कारण एक परिवार विस्थापित भएका छन् भने गाउँमुनिबाट झरेको केराबारी पहिरो नियन्त्रण नहुँदा एक दर्जन घर विस्थापित हुने अवस्थामा पुगेका छन् ।

    टाढाबाट हेर्दा यो गाउँ जति सुन्दर देखिन्छ, उति नै यहाँका स्थानीय बासिन्दा पीडामा छन् । लिपेखोला कटानका कारण २०४७ सालबाट सुरु भएको पहिरो दीर्घकालीन रुपमा नियन्त्रण नहुँदा यहाँका एक दर्जन घरधुरी विस्तापित हुने अवस्थामा पुगेको स्थानीय मानबहादुर खड्काले बताए ।

    उनले गाउँमुनिबाट झरेको पहिरोले अहिले गाउँ नै उठीबास लगाउने आए पनि कतैबाट सुनुवाइ नभएको गुनासो गरे । भदौ लागेपछि घरको जग नै पहिरोले बगाएपछि मनकुमार भुजेलको विस्थापित भइसकेको छ ।

    यो पहिरो नियन्त्रणका लागि स्थानीयले प्रयास गरे पनि संभव नभएको हो । ‘पहिरो केही वर्ष रोकियो पनि । तर सबै प्रयास बालुवामा पानी सरह भयो, अहिले फेरि केराबारी पहिरो चल्न थालेको छ’ स्थानीय शंकरबहादुर कार्कीले गुनासो गरे । ओखलढुंगा जिल्लामा लामो समयदेखि चलिरहेका ठूला पहिरोको सूचिमा केराबारी पहिरो पनि पर्छ ।

    यो पहिरोले हालसम्म सयौं रोपनी जग्गा बगाइसकेको छ । यहाँका स्थानीयले दीर्घकालीन रुपमा पहिरो नियन्त्रणको माग गरेका छन् । सदरमुकामकै वस्ती जोखिममा परे पनि सरकारी निकायको ध्यान नगएको सिद्धिचरण नगरपालिका १२ का युवा उमंग श्रेष्ठले बताए ।

    स्थानीय तथा प्रदेश सरकारले ध्यान दिए अझै पहिरो नियन्त्रण गर्न सकिने अवस्था रहेको उनको भनाइ छ । उक्त पहिरो नियन्त्रणमा आउन नसके वस्ती नै स्थानान्तरण गर्नु पर्ने अवस्था आउन लागेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस