२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

यस कारण जाने रहेछ ओखलढुंगामा झ्याप्प झ्याप्प बत्ति, दाेष कस्काे ?

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • विजुली गइरहने समस्याले विगत छ महिनादेखि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका उपभोक्ता हैरान छन् । तीन चारदिन सम्म लगातार विद्युत अवरुद्ध हुने समस्या यहाँका उपभोक्ताले भोग्दै आएका छन् ।

    कतिखेर कुन समयमा बत्ति जान्छ र आउ“छ भन्ने टुंगो नहुँदा विद्युतमा निर्भर व्यवसायीहरु लाखौं घाटामा पर्ने गरेका छन् । तीन चार दिन लगातार बत्ति जाँदा सयौं चल्लाहरु मर्ने गरेको कुखुरा व्यवसायीको गुनासो छ ।

    जिल्लाका दर्जनौं कुखुरापालक किसान बत्तिका कारण मारमा पर्ने गरेका छन् । त्यसैगरि अन्य व्यवसायीहरु पनि विद्युतले गर्दा हैरान हुने गरेको सुनाउ“छन् । ‘चिसोको व्यापार छ । फ्रिजमा आइसक्रिम हाल्यो । बत्ति जान्छ । आइहाल्छ होला भनेर राख्यो बिग्रिन्छ ।’ स्थानीय बिनोद शंकरले भने, ‘बिना टुंगो जाने बिजुलीले घाटैघाटा छ ।’

    ओखलढुंगामा बत्ती जाने कारण

    विद्युत प्राधिकरणको वितरण शाखाले भने यसरी विद्युत अवरुद्द हुनुको मूख्य कारण माथिल्लो सोलु जलविद्युत आयोजना भएको बताए । सोलु करिडोर प्रसारण लाइन सम्पन्न नभएपछि उत्पादन शुरु भएको माथिल्लो सोलु जलविद्युत आयोजनाको ५ मेगावाट विद्युत ओखलढुंगा-बुइपा-गाइघाट ३३ केभीमै जोडिएको छ ।

    सोही कारण ३३ केभी प्रसारण लाइनले धान्न नसक्दा विभिन्न प्राविधिक समस्याको साथै उपकरणहरुमा क्षति हुने भएकोले अवरुद्द हुने गरेको विद्युत प्राधिकरण वितरण शाखा ओखलढुंगाका प्रमूख संजिव साहले बताए । उनका अनुसार धेरै जसो खोटाङ र उदयपुरको बिचमा बिग्रिने गरेको छ । कहाँनेर बिग्रियो भनेरै पत्ता लगाउन धेरै समय लाग्ने गरेको उनले बताए ।

    हाल संचालित प्रसारण लाइनले १३ मेगावाट क्षमता मात्र धान्ने भएपनि माथिल्लो सोलु जलविद्युतको ५ मेगावाट थपिएपछि हैरान भएको समेत उनले बताए । प्राधिकरण केन्द्रले हालको प्रसारण लाइनको क्षमता नबढाएसम्म वा सोलु करिडोर प्रसारण लाइन सुचारु नभएसम्म यो समस्याले निरन्तरता पाउनसक्ने उनको अनुमान छ । सर्वसाधारण उपभोक्ताहरु भने प्राधिकरण केन्द्रले यो समस्या तुरुन्त समाधान गर्नुपर्ने माग राख्दै आएका छन् ।

    यस्ताे समस्या निरन्तर आए पनि सराेकारवाला निकाय भने समाधानका लागि पहल नगरी बसेकाे स्थानीयकाे आराेप छ । सरकारी कार्यालयमा सेवा प्रवाहमा समेत असर गरिरहेकाे विषयमा सरकारी स‌ंयन्त्र किन माैन ?

    प्रतिक्रिया दिनुहोस