२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

किन राेकियाे नेपाल-भारत हवाई उडान ?

  • २०७७ कार्तिक १६, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपाल र भारतबीच ११ चैत २०७६ यता रोकिएको हवाई उडान अझै कम्तिमा एक महिना सुरु नहुने भएको छ ।

    भारतमा रहेका विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने भएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज दोस्रो साता एयर बबल स्किममा सहभागी भई भारतमा उडान सञ्चालन गर्ने गरी प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको थियो ।

    मन्त्रालयले १ कात्तिकबाट उडान सुरु गर्ने गरी प्रस्ताव परेको थियो । सो प्रस्ताव सीसीएमसीबाट मन्त्रिपरिषद् पुगेपनि पास भने नभएको मन्त्रालय स्रोतले जनाएको छ ।

    सोहीकारण तत्काल भारतका लागि नेपालबाट हवाई उडान नहुने भएको हो । भारत सरकारले ३० नोभेम्बर २०२० सम्म लागू हुने गरी अन्तराष्ट्रिय व्यवसायिक उडानमा प्रतिवन्ध लगाएको छ । सोहीकारण भारतमा कम्तिमा १ महिना उडान नहुने भएको हो ।

    आम्दानी गुमाउँदै नेपाल एयरलाइन्स

    नेपाल एयरलाइन्सले भारतीय तीन वटा शहरबाट नियमित उडान गर्दै आएको थियो । तर, भारत सरकारको नियमित हवाई उडानमाथिको प्रतिवन्धका कारण उसले भारतमा उडान गर्न पाएको छैन ।

    यसले दैनिक ठूलो आम्दानी गुमिरहेको एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले बताए । ‘भारत मुख्य आम्दानी हुने क्षेत्र त हो नै फुल अक्कुपेन्सीमा उड्ने गन्तब्य थियो,’ उनले भने, भारतमा उडान अनुमति नमिल्दा कम्पनीलाई घाटा भइरहेको छ ।”

    प्रतिक्रिया दिनुहोस