२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
ओखलढुङ्गा-रामपुर सडक

म्याद सकियाे, काम अधुरै

  • २०७७ कार्तिक २३, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- सदरमुकामबाट पश्चिमी भेग जोड्ने सडक ओखलढुङ्गा-रामपुर-लप्सेखोला सडकको कालोपत्रेको म्याद सकिए पनि पुरा भएको छैन । उक्त सडकमा कालोपत्रे तथा थप ७ किलोमिटर ग्राभेलको काम अधुरै छ ।

    सडककका कालोपत्रे तथा ग्राभेलको काम सक्न दुई पटक म्याद थप भइसकेको छ । थपिएको क्यादमा समेत काम पुरा नहुँदा आवत जावतमा कठिनाइ हुने गरेको छ । ठेकेदार कम्पनीले समयमा काम नगर्दा काम अधुरै रहेको हो ।

    सडक पुरा गर्ने अन्तिम पटक थपिएको समयसीमा पनि २०७७ असोज २९ गते सकिएको छ । म्याद सकिनै लाग्दा उक्त सडकको ओखलढुङ्गा-रामपुर खण्डमा डीबीएसटी कालोपत्रे गर्न थालिएको थियो । रामपुर-लप्सेखोला खण्डमा भने ग्राभेल गर्नुपर्ने सम्झौता छ । उक्त खण्डमा बेश समेत तयार भएको छैन ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भुकम्प आपतकालीन सहायता आयोजना अन्तर्गत निर्माण भइरहेको सो सडकको १६ किलोमिटर क्षेत्रमा कालोपत्रे हुने छ । २३ दशमलब ६२ किलोमिटर लामो सडकमा ७ दशमलब ६२ किलोमिटर क्षेत्रमा भने ग्राभेल गर्ने प्राबिधिक स्टीमेट छ ।

    २०७५ असार २७ मा भ्याटसहित २९ करोड ९९ लाख ६० हजार १ सय ३ रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी गौरी पार्वती निर्माण सेवा प्रालिले कालोपत्रे गर्ने कामको जिम्मा लिए पनि समयमै कालोपत्रेको काम सकेको थिएन । ठेक्का लागेको १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि काम नसिकएपछि विभिन्न चरणमा समयसीमा थपिएको थियो ।

    पछिल्लो समयमा भने लकडाउन र भारी वर्षाका कारण काम प्रभावति भएको थियो । अहिले सो सडकमा कालोपत्रे गर्ने काम अगाडि बढाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इन्जिनयर सरोज केसीले बताए ।

    प्रतिक्रिया दिनुहोस