२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

ओखलढुंगासहित ४ जिल्लामा दुर्घटना ! कहाँ कहाँ के भयाे ?

  • २०७८ बैशाख २९, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- छुट्टाछुट्टै दुर्घटनामा परी खोटाङ, मोरङ, ओखलढुंगा र इलाममा चार जनाको मृत्यु भएको छ।

    प्रहरीका अनुसार सडक दुर्घटना, पानीमा डुबेरलगायतका कारणबाट चार जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका हुन्।

    ओखलढुंगामा घाँस काट्न जाँदा लडेर मृत्यु

    ओखलढुङ्गा मोलुङ गाउँपालिका ५ लिस्पुका ६५ वर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ।

    मंगलबार बिहान ६ बजे उनी घरबाट गढी जंगलमा घास काट्न गएकोमा अबेरसम्म पनि घर फर्की नआएपछि परिवारले खोजतलास गर्दै जाँदा बाटोदेखि अन्दाजी २५ मिटर तर लडी घाइते अवस्थामा फेला पारेका थिए।

    घाइतेको घरमा ल्याई उपचारको लागि लैजाने तयारी गर्दै गर्दा दिनको ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट खटिएको प्रहरी टोलीले बुझिरहेको छ।

    खोटाङमा अटो टेम्पु भिरबाट खस्दा १ जना बालकको मृत्यु 

    खोटाङ जन्तेढुंगा गाउपालिका ५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको छ। उनको उपचारको लागि घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमा नै मृत्यु भएको हो।

    उक्त दुर्घटनाबाट घाइते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ वर्षीय जीवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ वर्षीय मणिराम राई, सोही स्थानका ६५ वर्षीय रत्न बहादुर राई रहेका छन्।

    घाइतेमध्ये मणिराम राईको अवस्था सामान्य रहेकोले स्थानीय स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको र बाँकीलाई घोपा धरानतर्फ पठाइएको हो।

    मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु.१स ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट अन्दाजी ५०० मिटर तल खसेको हो।

    घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारको लागि घोपा धरानतर्फ पठाइएको हो।

    मोरङमा पानीमा डुबेर मृत्यु
    यसैबीच, मोरङ रंगेली ५ आँपगाछीका रमेश मण्डलको धान खेतमा बोडिङको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा १ जना महिला मृत अवस्थामा फेला परेको छ।

    मंगलबार बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय रंगेलीमा खबर प्राप्त भए पश्चात प्रहरी टोली खटिगई बुझ्दा सोही स्थान बस्ने ५५ वर्षीया पारु देवी रिसिदेव रहेको खुलेको हो।

    घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

    इलाममा पानी खान जाँदा लडेर वृद्धको मृत्यु
    इलामको इलाम नगरपालिका ११ बस्ने ८० वर्षीय वृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ।

    मंगलबार दिनको २ बजे उनी घरनजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस