२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

२४ घण्टापछि बल्ल संक्रमितकाे शव दाहसंस्कार, ठाउँकै समस्या

  • २०७८ जेष्ठ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  मृत्यु भएकाे २४ घण्टापछि बल्ल काेराेना संक्रमितकाे दाहसंस्कार गरिएकाे छ । खिजीदेम्वा २ का एक पुरुषकाे शव शनिबार विहानदेखि अस्पतालमै थियाे ।

    शव व्यवस्थापन स्थल यकिन नहुँदा र झरि परेकाले जलाउन दाउराकाे समस्या आएकाले ढिलाइ भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । काेराेना संक्रमितकाे शव व्यवस्थापनमा खटिने जनशक्ति, स्राेत साधन र शव दाहस्थल यकिन नहुँदा समस्या हुने गरेकाे छ ।

    सामुदायिक अस्पताल निजकै रहेकाे लिपेमा सदरमुकामकाे शवदाहस्थल हाे । संक्रमितकाे शव व्यवस्थापन सम्बन्धी निर्देशिका अनुसार नेपाली सेनाले परिवारकाे सहयाेग गर्ने भने पनि जलाउन वा गाड्न उपयुक्त स्थान यकिन नभएकाले समस्या भएकाे हाे ।

    नियमिमत बाहेक अन्य घाटका लागि ठाउँ हेरिए पनि स्थानीयले राजनीतिक नेतृत्वकाे प्रयाेग गरेर सिस्ने खाेलामा दाहस्थल बनाउन अबराेध गरेका थिए । नगरपालिकाले अन्य स्थान पहिचान गरेकाे छैन ।

    प्रमुख जिल्ला अधिकारी बन्दना राईका अनुसार लिपे खाेलामा नगरपालिकाकाे सहकार्यमा जलाउने व्यवस्थापनका तयारी गरिने भएकाे छ । जिल्लामा संक्रमणबाट ५ जनाकाे ज्यान गएकाे छ । ती मध्ये ३ जनाकाे शव व्यवस्थापनमा चुनाैति आएकाे छ । संक्रमणका त्रासका कारण परिवारका सदस्य र छरछिमेकीले सहयाेग गर्ने अवस्था नरहेकाे र स्वास्थ्य सुरक्षा पालना गरेर सेनाबाट गर्न ठाउँ नताेकिएकाले समस्या आउने गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस