२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

विद्युत प्राधिकरण: समयमा मिटर रिडिङ गर्दैन, उल्टै जरीवाना तिराउँछ

  • २०७८ श्रावण २२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- विद्युत प्राधिकरणले निषेधाज्ञाको अवधिमा मिटर रिडिङ गरेर ग्राहकलाई विल नदिने तर, एकै पटक विल पठाएर जरुवाना असुल्दै आएको छ । निषेधाज्ञाको बिचमा कर्मचारीले ग्राहकको घरमा बिल पुर्याएनन् ।

    ग्राहक बिल आएपछि महशुल तिर्ने भनेर बसे तर दुई तीन महिना सम्मको एकै साथ बिल पठाएर जरीवाना असुलेपछि उपभोक्ता आक्रोशित छन् । बिल नपठाउने र कार्यालयमा आएर तिर्दा उल्टो जरीवाना असुलेको विषय विषयलाई लिएर प्राधिकरणका कर्मचारी र सेवाग्राहीबीच कार्यालयमा दिनहुँ विवाद हुने गरेको छ ।

    ‘तीन महिनासम्म प्राधिकरणका कोही पनि मिटर रिडरहरू मिटर रिडिङ गर्न आएनन्,’ नागरिक समाजका प्रतिनिधि विवेश भने, ‘अहिले आएर मिटर रिडङ गरे अनि, ग्राहकलाई समयमा महसुल भुक्तानी नगरेको भन्दै जरिवाना गराए ।’ यस्तो कार्य उपभोक्तामाथिको ठगी भएको उनको भनाइ छ ।

    विद्युत प्राधिकरणले जरिवाना सहित असुलेकाे बिल ।

    प्राधिकरणले महसुल रकमको १० देखि २५ प्रतिशतसम्म जरिवाना लिएको छ । प्राधिकरणको ओखलढुंगा वितरण केन्द्रका प्रमुख प्रतिश ढकालले केन्द्रको सिस्टमकै कारण यहाँ पनि जरिवाना सहित संकलन गर्नुपरेको बताए । उनले भने, ‘पछि यो सरकारले फिर्ता पनि गर्न सक्छ ।’ महसुल रकम अग्रिम रूपमा खातामा जम्मा गरेकालाई भने जरिवाना तिर्न नपर्ने व्यवस्था छ ।

    तर, विपन्न ग्राहकहरूले अग्रिम रूपमा महसुल जम्मा गर्न नसक्ने भएकाले उनीहरू थप मारमा परेको नागरिक समाजका अगुवाहरूको भनाइ छ ।

    भर छैन विजुलीको

    वर्षा लागेपछि सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युतको कुनै भर हुँदैन । यस बिचमा एक सातामै तीनपटक विद्युत् अवरुद्ध भयो । विद्युत् पुनः नियमति हुन २४ घण्टा बढी समय लाग्यो । यस अघि कम्तीमा १२ देखि १५ घण्टासम्म विद्युत् अवरुद्ध हुँदै आएको थियो ।

    ग्राहकहरूले प्राधिकरणको वितरण केन्द्रहरूमा बुझ्दा ‘खोटाङको दिक्तेलदेखि गाईघाट खण्डमा बिग्रिएको’ भन्ने एकै जवाफ आउँछ । यसरी विद्युत् अवरुद्ध हुँदा तीन जिल्लाका दशौं हजार ग्राहक मारमा पर्ने गरेका छन् ।

    यो समस्याको स्थायी समाधान गर्न हालसम्म कुनै निकायले पहल नगरेको स्थानीयको गुनासो छ । बत्ती पटकपटक गइरहँदा विद्युतीय माध्यमबाट सञ्चालित उपकरणहरूमा क्षति हुने गरेको सर्वसाधारणको भनाइ छ । विद्युत् अवरुद्ध हुने प्रमुख समस्या दिक्तेल-गाईघाट खण्डको भौगोलिक विकटता रहेको प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रमुख ढकालले बताए ।

    ‘त्यो खण्डमा ठूलो जंगल छ । कहाँनिर पोल ढल्छ, तार चुँडिन्छ । पहिरो जान्छ केही टुंगो हुँदैन,’ उनले भने, ‘गाडी जाने बाटो नभएको र प्राविधिकहरूले हिँडेर पुग्दा समय लाग्ने भएकोले वर्षामा धेरै समय विद्युत् अवरुद्ध हुने गरेको हो ।’

    गाईघाट-बुइपा-दिक्तेल-ओखलढुंगा ३३ केभी प्रसारण लाइन विद्युत् वितरण भएअनुसारको दिगो नभएको सर्वसाधारणको बुझाइ छ । गत वर्ष ओखलढुंगाको मोलुङ खोला र सोलुखोलामा उत्पादित हाइड्रोको विद्युत् जोड्ने बित्तिकै दर्जनौंपटक अवरुद्ध भएको थियो ।

    प्रतिक्रिया दिनुहोस