२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

एमाले विभाजनसँगै प्रदेश १ सरकार अल्पमतमा, को बन्ला नयाँ मुख्यमन्त्री ?

  • २०७८ भाद्र ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • एमाले औपचारिक रुपमा विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा रहेको एमालेको एकल बहुमतीय सरकार पार्टी विभाजनपछि अल्पमतमा परेको हो । एमाले विभाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ । एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वको समूहले एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिसकेको छ ।

    नेपाल पक्षको पकड रहेको प्रदेश १ मा एमाले विभाजनसँगै मुख्यमन्त्री राई नेतृत्वको सरकारको विकल्प खोज्ने प्रक्रिया थालिने विपक्षी गठबन्धनका नेताहरु बताउँछन् ।

    प्रदेश १ सभामा कुल ९३ प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा पनि ४७ सांसद आवश्यक छ । जसमा एमालेका ५१ थिए । अब नेपाल नेतृत्वको एमाले समाजवादीमा १५ सांसद सामेल भएका छन् । यो सँगै एमाले अब ३६ सांसदमा सीमित भएको छ । एमाले समाजवादीमा लागेका सांसद फेरबदल नभएमा एमालेलाई बहुमतका लागि थप ११ सांसद आवश्यक हुने देखिन्छ । केन्द्रदेखि भएको विद्यमान सत्ता समीकरणलाई हेर्ने हो भने एमालेलाई बहुमतको अंक गणित जुटाउन निकै कठिन देखिन्छ ।

    नेपाल नेतृत्वको एमाले समाजवादीमा प्रदेश १ का प्रदेशसभा सदस्यहरू लछुमन तिवारी, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी र कृष्णकुमारी राई सामेल छन् ।

    एमाले विभाजनपछि प्रदेशसभामा एमालेका ३६, काँग्रेसका २१, माओवादी केन्द्रको उपसभामुखसहित १५, नवगठित एमाले समाजवादीका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद छन् । नयाँ सरकार बनाउनका लागि काँग्रेस, एमाले समाजवादी, माओवादी केन्द्र, जसपाको जोड्दा ५४ सांसद पुग्छन् । जसकारण यही गठबन्धनबाट नयाँ मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।

    सरकार परिवर्तन हुने

    एमाले समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राई अब प्रदेश सरकार परिवर्तन हुने बताउँछन् । ‘अहिले ठ्याक्कै यति नै सांसद हाम्रो पक्षमा हुनुहुन्छ भन्ने अवस्था छैन । तर, हाम्रो २० जना हो,’ राईले भने, ‘पार्टी नयाँ बन्दा भीम आचार्यसहित केही हेराफेरी होला । तर, सरकार ढाल्न पुग्दो संख्या हुन्छ ।’ आचार्यसहितका नेताहरु संस्थापन पक्षमा लागे पनि नेपाल पक्षमा १२ जनाभन्दा बढी सांसदहरु हुने उनको दावी छ ।

    शेरधन राई राजीनामा दिन तयार

    पार्टी विभाजनले प्रदेश १ को सरकार परिवर्तन निश्चित भएपछि एमालेको ओली पक्षले नेपाल निकट नेता भीम आचार्यलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको छ । यता, मुख्यमन्त्री शेरधन राईले भने आचार्य विभाजित एमाले समाजवादीमा नजाने र बहुमत सुनिश्चित गर्ने शर्तमा आफू राजीनामा दिन तयार रहेको पार्टी बैठकहरुमा बताउने गरेका छन् ।

    तत्कालै प्रदेश १ मा एमाले ओली पक्षले पार्टीको वा संसदीय दलको बैठक नराखेको सो समूहका नेता तथा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए । ‘तत्कालका लागि पार्टीको बैठक तथा संसदीय दलको पनि बैठक राख्ने तयारी गरिएको छैन,’ उनले भने, ‘माथि भएको विभाजनको असर प्रदेशमा पनि पर्ने नै भयो, तर हाम्रो पार्टीबाटै बहुमत सावित गरेर नयाँ सरकार गठनको प्रयासमा छौं ।’

    त्यस्तो नयाँ सरकार भीम आचार्यको नेतृत्वमा बन्नसक्ने कार्कीले बताए । ‘हाम्रो पहिलो प्राथमिकता भनेको शेरधन राईकै नेतृत्वमा भए राम्रो भनेका छौं, तर पार्टीको अवस्थालाई हेरेर मुख्यमन्त्री राईले पनि राजीनामा दिन तयार भइसक्नु भएको कारण भीम आचार्यकै नेतृत्वमा बहुमतको सरकार हुनसक्छ,’ उनले भने, ‘अहिले हामीले भीम आचार्यलाई मुख्यमन्त्री बन्न प्रस्ताव पनि गरिसकेका छौं ।’

    प्रदेश १ बाट एमाले समाजवादीमा को को ?

    एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट १६ जना नेताहरु समेटिएका छन् । बुधबार दर्ताको लागि निवेदन दिएको पार्टीमा वरिष्ठ नेताका रुपमा झलनाथ खनाल छन् । उनी नेपालपछिको दोस्रो वरियतामा छन् ।

    केन्द्रीय कमिटी सदस्यहरुमा जयन्ती राई (भोजपुर), जगन्नाथ खतिवडा (उदयपुर), घनेन्द्र बस्नेत (मोरङ), राजेन्द्र राई (भोजपुर), बलदेव चोधरी (उदयपुर), डा. देउमान सम्बाहाम्फे (मोरङ), भाष्कर काफ्ले (ताप्लेजुङ), रविन कोइराला (झापा), महम्मद महफुज अन्सारी (सुनसरी), नरेश खरेल (झापा) र महेश रेग्मी (मोरङ) रहेका छन् । उनीहरु यसअघि पनि एमालेको केन्द्रीय सदस्य थिए ।

    प्रदेश १ मा नेपालपक्षीय भनेर चिनिएका एमालेका सचिवद्धय योगेश भट्टराई र भीम आचार्यको नाम नयाँ पार्टीको केन्द्रीय समितिमा छैन । उनीहरुले पछिल्लो पार्टी विभाजनको विपक्षमा आफ्नो मत राख्दै जसरी पनि ओलीसँग एकता गर्नुपर्ने पक्षमा उभिएका थिए । प्रदेशमा नेपाल पक्षका भनेर चिनिएका केन्द्रीय सदस्यहरु मोरङका जीवन घिमिरे र खोटाङका राजन राई पनि ९५ सदस्यीय केन्द्रीय कमिटीमा छैनन् ।

    उनीहरुले माधव नेपालको साथ छाडेका हो कि हैन भन्ने खुलिसकेको छैन । एमाले समाजवादीको केन्द्रमा प्रदेश १ बाट उदयपुरका सुरेश कार्की, पाँचथरका गणेश काङ्बाङ, मोरङकी विद्या चाम्लिङ र उदयपुरकी दुर्गा परियार पनि छन् । उनीहरु भने केन्द्रमा नयाँ अनुहार हुन् ।

    प्रतिक्रिया दिनुहोस