२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
काँग्रेस महाधिवेशन

‌ओखलढुंगासहित ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक, कारवाही पनि फुकुवा

  • २०७८ भाद्र १२, शनिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं- नेपाली कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो ।

    भदौ १८ मा निर्धारित वडा अधिवेशनका लागि बिहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको निर्वाचन समितिले शुक्रबार थप १० जिल्लाको नामावली सार्वजनिक गरेको हो ।

    निर्वाचन समिति संयोजक महादेव यादवले सदस्यता सूची सार्वजनिक भएका जिल्लामा निर्वाचन अधिकृतलाई खटाइएको छ । निर्वाचन समितिले शुक्रबार धनकुटा, भोजपुर, गुल्मी, प्युठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख र अछाम जिल्लाको क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा सार्वजनिक गरेको हो ।

    बिहीबार निर्वाचन समितिले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ,  सोलुखुम्बु,  ओखलढुंगा,  उदयपुर,  झापाको क्रियाशील सदस्यता सार्वजनिक गरेको थियो । यस्तै दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको सदस्यता सूची सार्वजनिक गरिएको छ ।

    नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्लाका साथै बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको सदस्यता सूची पनि पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ ।

    यसैबीच यस अघिका निर्वाचनमा पार्टीका आधिकारिक उम्मदवार हराउन उम्मदवारी दिने, प्रस्तावक र समर्थकलाई पाँच वर्ष निष्काशन गरिए पनि उनीहरुकाे सदस्यता अध्यावधिक गरेर जिल्ला पठाइएकाे छ ।

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी मुख्यालय सानेपामा तीन दिनदेखि रिले अनसनमा छन् ।  कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस