२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
काँग्रेस महाधिवेशनः

पत्रकारदेखि युवा, विद्यार्थीसम्म चुनावी मैदानमा; काे-काे छन् उम्मेदवार ?

  • २०७८ मंसिर १, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- काँग्रेसको आगामी नेतृत्व चयनका लागि जिल्लामा दुई समुहबीच प्रतिस्पर्धा छ । मंसिर ६ गतेबाट शुरु हुने अधिवेशनमा बालकृष्ण दाहाल र तेजन खनाल (तेजेन्द्र) नेतृत्वको समुह चुनावी मैदानमा छ ।

    हाल जिल्लाका उपसभापति रहेका खनाल देउवा पक्षीय हुन् भने दाहाल कोइराला-पौडेल पक्षका नेता हुन् । दाहाल तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाका स्वकीय सचिव र शहिद लिलानाथ दाहालका सुपुत्र हुन् । दुवै समुहबीच कडा प्रतिस्पर्धा छ । १ हजार ४४३ प्रतिनिधीले काँग्रेसको आगामी नेतृत्व चयन गर्नेछन् ।

    दुवै समुहमा युवा तथा विद्यार्थीको पदाधिकारीमा उम्मेदवारी छ । विगतमा पुराना पुस्ताका नेताहरु हावी हुने गरेकोमा यो अधिवेशनमा युवाहरुको निर्णायक उपस्थित देखिएको छ ।

    प्रतिनिधीदेखि पदाधिकारी तथा जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गर्न होडबाजी नै चलेको छ । मतदाता प्रभावित पार्नदेखि जातिगत र क्षेत्रीय सन्तुलन कायम गर्न पनि दुवै समुहले युवालाई पदाधिकारीमा उम्मेदवार बनाएको छ । याे पटक उम्मेदवार धेरै छन्, तीमध्ये प्रतिनिधीमूलक हिसाबले केहीकाे चर्चा यहाँ गरिएकाे छ ।

    को को छन्, उम्मेदवार ?

    नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य तथा प्रवक्ता राजकुमार ढुंगाना काँग्रेसको १४ औं महाधिवेशनमा सचिव पदका उम्मेद्वार हुन् । उनी तेह्रौं महाधिवेशनमा सदस्य निर्वाचित भए । त्यस अघि उनी नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा थिए ।

    आम निर्वाचनमा पार्टीले बेहोरेको पराजय र गिरेको साख उठाउन नेतृत्वमा युवाहरुको हस्तक्षेप जरुरी भएको उनको तर्क छ । ‘हामी यही मान्यता स्थापित गर्न नेतृत्वमा युवाहरुको विजयका लागि चुनावी मैदानमा छौं’ उनले भने । उनी तेजन खनाल समुहबाट सचिवका उम्मेदवार छन् ।

    नेवि संघका पूर्व उपाध्यक्ष नविन राई महाधिवेशन प्रतिनिधीका उम्मेदवार छन् । त्यस्तै प्रविन राई तरुण दलका जिल्ला अध्यक्ष हुन् । उनी पनि चुनावी मैदानमा छन् । दुवै दाहाल समुहका उम्मेदवार हुन् ।

    तरुण दलका पूर्व उपाध्यक्ष टेकबहादुर खड्का र नेवि संघका नेता उज्जन बुढाथोकीलाई सो समुहले सह सचिवको उम्मेदवार बनाएको छ । युवाहरु नेतृत्वमा नआइकन संगठन गतिशिल नहुने विगतका उदाहरणले प्रष्ट भएको सह सचिवका उम्मेदवार टेकबहादुर खड्का बताउँछन् ।

    नेवि संघका जिल्ला अध्यक्ष रोशन महतरा प्रदेश महाधिवेशन प्रतिनिधीका उम्मेदवार हुन् । त्यस्तै विद्यार्थी नेता गोविन्द कोइराला, विन्दा बोगटी पनि प्रदेश प्रतिनिधीका उम्मेदवार बनेका छन् ।

    संघीय महाधिवेशन प्रतिनिधी उम्मेदवार अर्चना लुईटेल युवाहरुको नेतृत्वबाटै काँग्रेसमा पुनःजागरण आउने बताउँछिन् । पुराना पुस्तालाई सम्मान गर्दै युवाहरुले नेतृत्व लिनु पर्ने उनको तर्क छ ।

    सामाजिक क्षेत्रमा क्रियाशिल सुनिता अधिकारी र मैया राई महाधिवेशन प्रतिनिधीका उम्मेदवार हुन् । युवापुस्ताका महिलाहरुको राजनीतिमा कमजोर उपस्थितिले महिला आन्दोलन पछि परेको उनीहरुको ठहर छ । त्यस्तै जिल्ला सदस्यमा लालकुमारी धमला, पुरुषोत्तम पौडेलसहितका युवाले उम्मेदवारी घोषणा गरेका छन् ।

    मानेभञ्ज्याङ गाउँपालिकाका उप प्रमुख सविता राई, वडा अध्यक्षहरु रामकुमार राई भीम बलाम्पाखी मगर, वडा सदस्य कल्याण राईसहित युवा पुस्ताका नेताहरु पनि चुनावी मैदानमा छन् ।

    यी त केही उदाहरण मात्रै हुन् । यो पटकको अधिवेशनमा प्रदेश, संघीय महाधिवेशन प्रतिनिधीदेखि जिल्लाका पदाधिकारी र जिल्ला सदस्यमा युवा तथा विद्यार्थीहरुको होडवाजी नै छ । पदाधिकारी बाहेक २७ जिल्ला सदस्य पदका लागि उम्मेदवार घोषणा गरेका अधिकांश युवा विद्यार्थीहरु नै छन् ।

    यो पटक काँग्रेसमा युवा विद्यार्थीको लोभलाग्दो उपस्थितिले राजनीतिमा युवाहरुलाई आकर्षित गर्ने नेकपा एकिकृत समाजवादीका जिल्ला उप सचिव दिपक फुयल बताउँछन् ।

    पत्रकार पनि चुनावमा

    काँग्रेसको १४ औं महाधिवेशनमा जिल्लामा दुई पत्रकार चुनावी मैदानमा छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका उपाध्यक्ष बाला अधिकारी, केन्द्रिय सदस्य जानुका बराल  र महासंघकाे  प्रदेश १ का प्रदेश सभासद जीवन शर्मा उम्मेदवार बनेका हुन् ।

    अधिकारी र बराल संघीय महाधिवेशन प्रतिनिधी र शर्मा प्रदेश प्रतिनिधीका उम्मेदवार हुन् । शर्मा प्रेस युनियनका जिल्ला अध्यक्ष र रेडियोकर्मी हुन् । भने बराल ग्लाेबल टिभीमा आबद्ध छन् ।

    प्रतिक्रिया दिनुहोस