२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

काँग्रेसमा सचिव पदका उम्मेद्वार ढुंगानाकाे प्रतिबद्धता सार्वजनिक, के छ उनकाे घाेषणामा ?

  • २०७८ मंसिर ४, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसकाे १४ महाधिवेशन अन्तर्गत जिल्ला कार्य समितिकाे पदमा उम्मेदवारी घाेषाणा गरेका युवा नेता तथा जिल्ला पार्टीका प्रवक्ता राजकुमार ढुंगानाले आफ्नाे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

    ढुंगानाले नागरिक मिडिया मार्फत प्रतिबद्धता सार्वजनिक गरेका हुन् । लामाे समय नेवि संघकाे केन्द्रीय राजनीतिमा नेतृत्व गरेका ढुंगाना अघिल्लाे जिल्ला अधिवेशनबाट जिल्ला सदस्य हुँदै पार्टीकाे प्रवक्ताका रुपमा कार्यरत थिए ।

    उनले तेजन खनाल समुहबाट सचिव पदमा उम्मेदवारी दिएका हुन् । प्रतिस्पर्धीमध्ये जनसम्पर्क र कामका हिसाब काबिल मानिएका ढुंगाना ससक्त उम्मेद्वार हुन् । उनी स‌ंस्थापन समुहबाट सचिव पदमा प्रयासी रहेकाले साे समुह जिल्लामा निकै ससक्त रहेकाे विष्लेषण छ ।

    याे समुहलाई नेताहरु प्रदिप सुनुवार, रामहरि खतिवडा, जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ लगायतकाे समर्थन रहेकाे नेताहरुले बताएका छन् ।

    यस्ताे छ ढुंगानाकाे घाेषणा

    आदरणीय क्षेत्रीय प्रतिनिधि साथीहरूमा जय नेपाल र उज्यालो ओखलढुंगाको न्यानो अभिवादन !

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन लोकतन्त्रप्रेमी जनका लागि एउटा ठूलो उत्सव पनि हो । त्यसैलेआज यसप्रति सबैको चासो छ । मुलुकका ठूलाठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेसको महाधिवेशन माथि सबैको चासो हुनु स्वाभाविक पनि हो । यो यस्तो राजनीतिक दल हो, जो कहीँ चुक्यो भने सिङ्गो मुलुकले दुःख पाउँछ, सारा जनताले सास्ती पाउँछन् ।

    २००७ सालदेखि अहिलेसम्म लोकतन्त्र भीरमा पुग्दा नेपाली कांग्रेसले काँध थाप्दै आएको छ, बलिदान दिँदै आएको छ । यसरी बलिदान दिने सन्दर्भमा ओखलढुंगा जिल्लाको नाम पनि इतिहासमा गर्वका साथ लिइन्छ । राम, लक्ष्मण हुन् या लीला,ठगी, गोर्कण , पेशल, केशव वा क्याप्टेन यज्ञबहादुर थापा सहित ५७ जनाले हामीलाई त्याग र बलिदानको बाटो देखाएका छन्, तिनकै प्रेरणाले म राजनीतिमा लागेको हुँ । तिनकै पदचिन्हलाई पछ्याउँदै विद्यार्थीकालमा नेवि संघको राजनीति गर्दा अनेकपल्ट प्रहरीको कुटाइ पनि खाएँ ।

    जनआन्दोलन ०६२÷०६३ मा राजद्रोहको मुद्धा लागेर जेननेल पनि भोगेँ । यी सबै कुरा यहाँहरुलाई अवगतै छ । आदरणीय प्रतिनिधि साथीहरु, यतिबेला मैले १३ औं महाधिवेशनमा यहाँहरूको प्रेमले सबैभन्दा बढी मत दिएर ओखलढुंगा जिल्ला कार्यसमितिको सदस्य निर्वाचित गरेको तथ्य स्मरण गर्नैपर्छ ।

    त्यसपछि पार्टी प्रवक्ताको जिम्मेवारी दिएको तथ्य पनि आदरपूर्वक स्मरण गर्न चाहन्छु । मैले निर्वाह गरेको जिम्मेवारीबाट प्राप्त अनुभवका आधारमा यो चौधौँ महाधिवेशनमा सचिव पदमा मेरो उम्मेदवारी स्वाभाविक हो भन्ने ठान्दछु । बिपी भन्नुहुन्थ्यो, मेरो चिन्ता नलिनू देशको चिन्ता लिनू ‘ म पनि आफ्नो चिन्ता लिन्नँ, ओखलढुंगाको चिन्ता लिन्छु । मेरो प्यारो ओखलढुंगा, उज्यालो ओखलढुंगाको अर्थ पनि यही हो ।

    किशुनजी भन्नुहुन्थ्यो, ‘निष्ठा र मूल्यको राजनीति गर–, पद, पैसा र सुखको लागि मरिहत्ते नगर ।’ मेरो प्यारो ओखलढुंगाको मन्त्र पनि यही हो । जुन कुराले ओखलढुंगाको हित हुन्छ, त्यही नै मेरो एजेन्डा हो । सबैको आफ्नो घर होस्, खेतबारी होस्, रोजगारी होस्, सबैका छोराछोरीले स्कुल, कलेज पढ्न पाउन्, सबैले स्वास्थ्य उपचार गर्न पाऊन्, पोषिलो खानेकुरा खान पाउन्, बिपीले नेपालको सन्दर्भमा समाजवाद यस्तै कुरालाई संकेत गर्नुभएको थियो ।

    उज्यालो ओखलढुंगा बनाउन यिनै न्यूनतम कुरा पहिला पूरा गर्न पर्छ । यसका लागि ओखलढुंगाको कांग्रेस पार्टीसँग सपना हुनुपर्छ । सपनाका साथमा आर्थिक विकासका कार्यक्रम पनि हुनुपर्छ । ओखलढुंगालाई उज्यालो पार्ने सपना र कार्यक्रम नै मेरा एजेन्डा हुन् । बुँदागत रुपमा संक्षेपमा म आफ्ना एजेन्डा यसरी राख्छु –

    १)ओखलढुंगा, शहीदको जिल्ला फेरि बन्नेछ कांग्रेसको किल्ला । यस नारालाई सार्थक बनाउन आउँदै गरेका मुलुकका तीनै तहका निर्वाचनमा कांग्रेसलाई अत्याधिक बहुमतले जिताउन पार्टीलाई नवजीवन दिने हरतरहले प्रयास गर्नेछु ।

    २) पार्टीलाई बलियो बनाउन पार्टीका नीति, कार्यक्रमलाई व्यापक रूपमा प्रचारप्रसार गरेर ७५वटै वडामा समय समयमा प्रशिक्षण कार्याक्रम सञ्चालन गर्नेछु ।

    ३) विभिन्न कार्यक्रमका माध्यमले जिल्ला, प्रदेश र केन्द्रलाई जोड्ने छु ।

    ४) हिंसामुक्त र सद्भावपूर्ण, समावेशी समाज निर्माणका लागि कार्यक्रम सञ्चालन गर्नेछु ।

    ५) पार्टीले वर्षभरि सञ्चालन गर्ने वार्षिक कार्यक्रमको क्यालेन्डर निर्माण गरी सो अनुरुप काम गर्नेछु ।

    ६)नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रभावकारी बनाउनेछु र पार्टीलाई जनतासँग जोड्नेछु ।

    ७) पार्टी क्रियाकलापको अभिलेख (रेकर्ड) व्यवस्थि गर्नेछु र प्रविधिमैत्री बनाउनेछु ।

    ८) कांग्रेस थाकेको छैन, यसको जाँगर अझ बढेको छ भन्ने सन्देश दिन पार्टी सदस्यको प्रभावकारिता र क्रियाशीलता बढाउने कार्यक्रमहरु सञ्चालन गर्नेछु र पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गर्नेछु ।

    ९) जनताका प्रत्येक तह र तप्काका विशेष समस्या र मुद्दालाई तिनीहरुकहाँ गएर पहिचान गरी समाधानका लागि कार्यक्रम सञ्चालन गर्ने छु ।

    १०) समग्रमा प्यारो ओखलढुंगालाई उज्यालो बनाउन सिर्जनशील, कर्मशील र विकासप्रेमी कांग्रेसको निर्माण गर्नेछु र जनताको प्रिय पार्टी बनाउनेछु ।

       मेरो प्रतिबद्धतालाई आकार दिन यहाँहरुको अमूल्य विश्वासको अपेक्षा गर्दछु । आजसम्मको मेरो क्रियाशीलता, संघर्ष, विचार र मैले निर्वाह गरेको जिम्मेवारीलाई यहाँहरुले अवश्य मूल्यांकन गर्नु नै हुने छ । उज्यालो ओखलढुंगाको सपनालाई साकार पार्न तपाईको विश्वाससहितको मतले मात्र सम्भव छ । मलाई मत दिनुस्, म तपाईँलाई निराश पार्ने छैन । आजसम्म निराश पारेको पनि छैन ।

    जय नेपाल ! राजकुमार ढुंगाना, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव उम्मेदवार, ओखलढुंगा ।

    याे पनि पढ्नुहाेस्

    राजकुमार ढुंगाना भन्छन्, ‘पाका र युवा पुस्ताकाे साथले जित सहज’

    प्रतिक्रिया दिनुहोस