२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

स्थानीय तहमै बढी भ्रष्टाचार– आयुक्त चन्द

  • २०७८ फागुन ३०, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्थानीय तहमा बढी भ्रष्टाचार भएकैले आयोगमा बढी उजुरी दर्ता भएको बताएका छन् । सोमबार ओखलढुंगा सदरमुकाममा ‘आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ विषयक अन्र्तक्रियामा बोल्दै चन्दले यस्तो बताएका हुन् ।

    ‘संख्या पनि स्थानीय तहको बढी भयो । भ्रष्टाचार पनि स्थानीय तहमै बढी भयो ।’, आयुक्त चन्दले भने, ’किनभने योजनाको संख्या पनि टुक्रेटाक्रे गरेर धेरै नै छ । यसमा सुधार आवश्यक छ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महोत्तरीस्थित बर्दिवासमा दुई आर्थिक वर्षमा दर्ता भएका नौ जिल्लाका उजुरीमध्ये सबैभन्दा बढी १ हजार १ सय ५७ वटा मुद्दा स्थानीय तहको दर्ता भएका छन् ।

    संघ अन्तर्गतका योजनाको ५ सय २६ वटा र प्रदेश अन्र्तगतका ८६ वटामात्र उजुरी दर्ता भएको कार्यालये जनाएको छ । चालु आर्थिक वर्षमा अख्तियारमा ओखलढुंगाको स्थानीय तहका १६ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ । त्यसमध्ये चिशंखुगढी र लिखु गाउँपालिकाको मात्र उजुरी नपरेको आयोगले जनाएको छ ।

    धेरैजसो भ्रष्टाचार सार्वजनिक खरिद र निर्माणमा हुने गरेको आयोगले जनाएको छ । आयोगको बर्दिवास कार्यालयका प्रमूख गोपालकुमार अधिकारीका अनुसार गलत स्टिमेट तयार पार्ने, बजेट टुक्र्याएर खरिद गर्ने, आवश्यक भन्दा बढी सामाग्री खरिद गर्ने जस्ता काम स्थानीय तहमा देखिएका छन् । जिन्सि दाखिला नगर्ने, गलत दाखिला प्रतिवेदन गर्ने र उपभोक्ता समिति सम्बन्धि कार्यविधि पालना नगर्ने प्रवृत्ति बढी देखिएको उनले बताए ।

    कर्मचारी नियुक्तिमा मिलेमतो, नजिकका र आफन्तलाई बिना प्रतिस्पर्धा नियुक्ति लगायतका उजुरी आयोगमा पर्ने गरेको जनाएको छ । स्थानीय तहका प्रमूखहरुले भने भ्रष्टाचार नभएको झूठो उजुरी मात्र परेको भन्दै आफ्नो बचाउ गरेका थिए । धेरैजसो प्रतिशोध साँधेर अख्तियारमा झुठो उजुरी दर्ता गर्ने गरेको भन्दै रुद्र अधिकारी, मणिराज राई र बेदबहादुर रोकाले आफ्नो बचाउ गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस