२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

निर्वाचन बहिष्कारको नारा सहित मार्चपास र सभा

  • २०७९ बैशाख ८, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले स्थानीय तहको निर्वाचन बहिष्कारको नारा लगाउँदै बिहिबार चम्पादेवी गाउँपालिका ३ मा मार्चपास गरेको छ । ‘प्रतिक्रियावादी निर्वाचन बहिष्कार गरौँ, व्यक्ति पार्टी होइन व्यवस्था बदलौँ’ भन्ने नारा सहित मार्चपास गरि उनीहरुले बहिष्कार सभा गरेका हुन् ।

    सयौँको संख्यामा उपस्थित युवाहरुले चम्पादेवी गाउँपालिकाको केन्द्रबाट मार्चपास गरि नजिकै सभा गरेका हुन् । सभालाई पार्टीका केन्द्रिय सदस्य वसन्त बोगटीले सम्बोधन गरेका थिए । उनले गठबन्धन सरकार तथा एमाले राष्ट्रघात, जनघात र भ्रष्टाचारले दुर्गन्धित भएकोले जनताले दुर्गन्धको थुप्रो र मुक्तिको आन्दोलन कुन हो भनेर चिन्ने समय आएको बताए ।

    उनले चम्पादेवीमा संसदवादी प्रतिक्रियावादी दलालहरुलाई निषेध गर्ने र जनादेश सहित नयाँ क्रान्तिकारी सत्ता, सरकार निर्माण हुने बताए । चम्पादेवीको निर्वाचन बहिष्कारले समाज र राष्ट्रलाई नयाँ सन्देश दिने उनीहरुको भनाई थियो ।

    मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) ले यसअघिको निर्वाचन पनि बहिष्कार गरेको थियो । स्थानीय तह निर्वाचनको संघारमै फेरी निर्वाचन विरोधी गतिविधि शुरु गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस