२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

सिद्धिचरणमा सिताराम र लिखुमा राजन बने बागी उम्मेद्वार

  • २०७९ बैशाख १२, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– सिद्धिचरण नगरपालिकामा एमाले र लिखु गाउँपालिकामा काँग्रेसबाटै बागी उम्मेद्वारी दर्ता भएको छ । सिनपामा एमाले नेता सिताराम गुरुङले मेयर पदका लागि बागी उम्मेद्वारी दर्ता गराएका हुन् ।

    पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनी एमाले नेता हुन् । सिताराम २०५४ मा तत्कालीन रुम्जाटार गाविसका अध्यक्ष निर्वाचित भएका थिए । गएको एमाले जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित गुरुङले मेयरको टिकटका लागि आकांक्षा राखेका थिए ।

    आफ्नो उम्मेद्वारी पार्टीभित्र व्यक्ति हावी भएर गरिने सिन्डिकेट विरुद्ध भएको प्रतिक्रिया दिए । एमाले पार्टीबाट इच्छाकुमारी गुरुङले मेयर पदमा मनोनयन दर्ता गरेकी छन् । उनी स्थानीय तहको प्रमूख पदमा टिकट पाउने जिल्लाकै एकमात्र महिला हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा उनी उपप्रमूख पदमा निर्वाचित भएकी थिइन् ।

    त्यसैगरि लिखु गाउँपालिकामा अध्यक्ष पदमा काँग्रेस नेता राजन सुवेदीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । सुवेदी अध्यक्ष पदका आकांक्षी थिए । सत्तारुढ गठबन्धनबिच सहमति हुन नसक्दा लिखुमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी एक्लाएक्लै प्रतिस्पर्धामा जुटेका छन् ।

    काँग्रेसले अशोक कार्कीलाई टिकट दिएपछि राजन सुवेदीले बागी उम्मेद्वारको रुपमा मनोनयन दर्ता गरेका हुन् । राजनसँगै उपाध्यक्ष पदमा समेत शुभद्रा कटवालले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएकी छन् ।

    सुवेदी पेशाले निर्माण व्यवसायी हुन् । गएको काँग्रेस महाधिवेशनमा उनी महाधिवेशन पदमा पराजित भएका थिए । लिखुमा माओवादी केन्द्रको तर्फबाट भने एकिन्द्र कटवालले मनोनयन दर्ता गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस