२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

एक स्थानीय तह एक अस्पताल निर्माण सुस्त गतिमा

  • २०७९ अषाढ २२, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  सरकारले ‘एक स्थानीय तहमा, एक अस्पताल’ निर्माण गर्ने योजना अन्तर्गत जिल्लाको तीनवटा स्थानीय तहमा काम रोकिएको छ । आठ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिकामा जिल्ला अस्पताल र ओखलढुंगा सामुदायिक अस्पताल भएकोले निर्माण गर्नु परेन ।

    बा“की ६ वटा स्थानीय तहमध्ये ठेक्का लगाएर पनि डिपिआरमा समस्या देखिएपछि मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकामा अस्पताल भवन निर्माणको काम रोकिएको हो । भवनका लागि जग सम्याएपछि काम रोकिएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि आवश्यक मापदण्ड अनुसार डिपिआर नभएको भन्दै संशोधन नभएसम्म काम रोक्न लगाएको हो ।

    मोलुङ गाउँपालिकामा भ्याट सहित ४ करोड ३२ लाख ६६ हजार २ सय ६५ रुपैंयामा ठेक्का लागेको थियो । डिपिआरको कमजोरीलाई सुधार नगरेसम्म काम शुरु नगर्न सात बुँदामा स्वास्थ्य मन्त्रालयले पत्राचार गरेपछि काम रोकिएकै सात महिना भयो ।

    पत्रमा जग्गाको क्षेत्रफल, स्वामित्व सम्बन्धि कागजात संलग्न गरि मास्टरप्लानमा सेटब्याक, अस्पताल भवन बनाउन कायम गरिने जगको लेभल स्पष्ट देखाई शवगृह र अस्पतालजन्य फोहोर व्यवस्थापन क्षेत्र जस्ता ठाउँहरु उल्लेख गर्नुपर्ने भनिएको छ । साईटको सबै क्षेत्र देखिने टोपोग्राफी सर्भे प्लान पेश गर्नुपर्ने लगायतका बुँदा छन् ।

    डिपिआर तयारकर्ताले आउट टेम्प्लेटमा डिजाईनरको नाम, इन्जिनियरिङ परिषदको दर्ता नम्बर र सम्पर्क नम्बर सम्म राख्नुपर्ने पत्रमा उल्लेख छ । डिपिआरको जिम्मा पाएका ‘एबिआर कन्सल्टेन्सी’ले वास्तविक स्थलगत सर्वेक्षण नगरि डिपिआर तयार गरेको अनुमान गरिएको छ । डिपिआरमा हुनुपर्ने मापदण्ड पुरा नगरि उनीहरुले डिपिआर गाउँपालिकालाई बुझाएका थिए । त्यसैको आधारमा ठेक्का लगाइएको थियो ।

    चिशँखुगढी गाउँपालिकामा निर्माण भइरहेकाे अस्पताल भवन ।

    १५ लाख खर्च गरेर बनाइएको डिपिआर संशोधन गर्ने र मन्त्रालयले स्वीकृत दिने काम भएको छैन । भर्खरै निर्वाचित गाउ“पालिका अध्यक्ष उत्तम राईले यसलाई तुरुन्तै निर्माणको प्रक्रियामा लैजान पहल भईरहेको बताए ।

    ठ्याक्कै यस्तै समस्या सुनकोशी गाउँपालिकामा पनि देखिएको छ । ५ करोड २९ लाखमा ठेक्का लागिसकेको भवनको काम जग सम्याएर पिल्लरका लागि खाल्डो खनिसकेपछि रोकिएको हो । डिपिआर फेरबदल गर्नुपर्ने भएर काम रोकिएको गाउ“पालिकाका प्रमूख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए ।

    मानेभन्ज्याङ गाउँपालिकामा जग्गाको टुंगो नलागि डिपिआर गर्ने काम भएको छ । एकै स्थानमा कम्तिमा ७ रोपनी क्षेत्रफल जग्गा अस्पताल निर्माणका लागि चाहिने भएपनि जग्गा टुंगो नलागि डिपिआर निर्माण गरिएको हो । स्वास्थ्य शाखा प्रमूख विश्वराज दाहालले अस्पताल बनाउन उपयुक्त जग्गा स्वास्थ्य चौकी भएकै ठाउँ रहेको बताए । तर त्यस ठाउँमा छ रोपनी मात्र जग्गा हुँदा ठेक्का गर्न नमिलेको बताए । छिट्टै समाधान खोजेर ठेक्का लगाउने प्रक्रियामा अघि बढेको दाहालले बताए ।

    त्यसैगरि लिखु गाउँपालिकामा सबै प्रक्रिया पुरा गरि भ्याट सहित ७ करोड २३ लाख ८२ हजार ९ सय ९४ मा गौराबंगलामूखी जेभीले ठेक्का लिएको थियो । काम अत्यन्तै सुस्त गतिमा छ । हालसम्म २० प्रतिशत मात्र काम सकिएको लिखु गाउँपालिकाका इन्जिनियर रविकान्त झाले बताए । आगामी पुषभित्र काम सक्नुपर्ने भएकोले ठेकेदारलाई निरन्तर पत्राचार गरिरहेको बताए ।
    दुईवटा स्थानीय तहहरु चिशंखुगढी र खिजिदेम्बामा भने सन्तोषजनक रुपले ५ शय्याको अस्पताल समयमै निर्माण भएका छन् । खिजिदेम्बामा ६ करोड ९ लाखमा ठेक्का लागेको भवन यही साउनमा बुझाउने तयारी भईरहेको प्रमूख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए । ५ करोड २६ लाखमा ठेक्का लागेको चिशंखुगढीमा असारभित्रै हस्तान्तरण हुने अवस्थामा पुगेको पालिका अध्यक्ष निशान्त शर्माले बताए ।

    १५ शय्याका लागि ठेक्का लागेको चम्पादेवी गाउँपालिकास्थित रानीवनमा भने पहिलो तलाको काम सकिएको छ । कामको गति तिव्र रुपमा भएकोले समयमै सम्पन्न गर्ने अनुमान रहेको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए । १७ करोड २९ लाख ३९ हजार रकममा ठेक्का सम्झौता भएको भवन रसुवागढी कन्सट्रक्सनले निर्माण गरिरहेको छ ।

    स्थानीय तहहरुमा जुनसुकै योजनामा पनि डिपिआर निर्माणमै अनियमितता हुने गरेको छ । डिपिआर निर्माणमा ठूलो बजेट विनियोजन गरेर नक्कली डिपिआर राख्ने र वास्तविक सर्भे नगर्ने जस्ता काम हुने गरेका छन् । हाल डिपिआरका कारण काम रोकिएका अस्पताल भवनका काम पनि यिनै समस्याले ढिलो भएको सरोकारवालाको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस