२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

किन भयाे नेकपाकाे बैठकमा घम्साघम्सी ?

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेकपाकाे समिति बैठक बुधबार सुरु भएको छ। दुई अध्यक्षबीच अविश्वास र मतभेद जारी रहेका बेला राजनीतिक प्रतिवेदन बिनै बैठक बसेको हो।
    अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सम्बोधनकै क्रममा आरोप÷प्रत्यारोप चलेको छ। उनीहरूले एजेन्डा तय गर्नेदेखि दुई अध्यक्षले वर्तमान परिस्थिति र बैठकका सन्दर्भमा केन्द्रित रहेर बोलेका हुन्।

    बैठक बस्ने बेलासम्म कोही स्थायी समिति सदस्यसँग एजेन्डा थिएन। न राजनीतिक प्रतिवेदन थियो न त कुनै औपचारिक एजेन्डाको जानकारी। दुई अध्यक्षसहित महासचिवलगायतले आइतबारदेखि प्रयास गर्दा पनि एजेन्डामा सहमति जुट्न सकेको थिएन। त्यसपछि बैठकमै एजेन्डाबारे छलफल गर्ने तय भएको थियो। बैठकको अघिल्लो दिन सम्भावित घम्साघम्सीका लागि दुई धुव्रमा विभाजित नेता आआफ्नो समूहमा घनीभूत छलफल गरी बालुवाटारमा जम्मा भएका थिए।

    बैठकमै एजेन्डाबारे छलफल गर्ने तय भएको थियो। बैठकको अघिल्लो दिन सम्भावित घम्साघम्सीका लागि दुई धुव्रमा विभाजित नेता आआफ्नो समूहमा घनीभूत छलफल गरी बालुवाटारमा जम्मा भएका थिए।

    अध्यक्ष दाहाल कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद गरेर मात्र बालुवाटार पुगेका थिए। स्रोतका अनुसार बालुवाटारमा ओली, दाहाल, नेपाल र महासचिव विष्णु पौडेल सुरुमा छलफलमा बसे। उनीहरूले केही न केही एजेन्डा भने पनि लैजान गृहकार्य गरे। बिहान ११ बजे तय भयो बैठकका ५ एजेन्डा। त्यही एजेन्डासहित अध्यक्षद्वय बैठकमा उपस्थित भए। उनीहरूका तर्फबाट महासचिव पौडेलले ती एजेन्डा सदस्यलाई सुनाए।

    सहभागीले सरकारकै कामको समीक्षाभित्र कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रयास, सीमा समस्या र समाधानको विषयसम्मलाई राखिएकामा आपत्ति जनाए। अन्य विषयलाई प्राथमिकतामा राख्न नखोजिएको भन्दै नेताहरू एकपछि अर्को गरी हुटिङ गर्न थाले। ‘२०–२२ जना नेताले लगातार उठेर एजेन्डा थप्न आवाज उठाउन थाल्नुभयो। त्यसपछि कसैले के थप्न भने कसैले के। त्यसले नै झन्डै सवा घण्टा समय खाइदियो’ स्थायी समिति सदस्य विष्णुपुकार श्रेष्ठले भने।

    एजेन्डामा चित्त नबुझेको भन्दै भीम रावल, लीलामणि पोखरेल, पम्फा भुसाल, मातृका यादव, रघुजी पन्त, जनार्दन शर्मा, वेदुराम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, केशव बडाल, छविलाल विश्वकर्मा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्यलगायत नेता एकपछि अर्को बोल्न थाले। सरकारका समग्र कामको समीक्षा अन्यमा रहेर गर्न नहुने र त्यसलाई ‘मूर्तिकृत’ गरेरै गर्नुपर्ने आवाज अधिकांश नेताले उठाए।

    नेताहरूबीच केही बेर घम्साघम्सी चल्यो। बैठकको संयुक्त अध्यक्षता गरिरहेका ओली र दाहाललाई कसका कुरा सुन्ने भन्नेमै अन्योल हुने गरी नेताहरू विभिन्न दिशाबाट एकसाथ बोले। रूकुम घटनाका विषयमा समीक्षा हुनुपर्ने भनेर छविलाल विश्वकर्मा बोले। सरकारको समग्र समीक्षा गर्नुपर्ने आवाज अष्टलक्ष्मी शाक्यदेखि गोकर्ण विष्ट, रघुजी पन्त, वेदुराम भुसाल, युवराज ज्ञवालीसम्मका नेताले उठाए।

    जनार्दन शर्माले संघीयतामा केही भएको छैन, विषयवस्तु आउनुपर्‍यो भने। उनले पार्टी सचिवालयले काम गर्न नसकेको भन्दै खारेजीको विषय बैठकमा ल्याउन माग गरे। विदेशी बुहारीलाई अंगीकृत नागरिकता सात वर्षमा मात्र दिन सकिने भन्ने विषयले मधेसमा विभेद गरेकाले छलफल गर्नुपर्ने आवाज मातृका यादवले उठाए।

    सांसदको तलब–भत्ता कटौतीको विषय एजेन्डा बन्नुपर्ने माग प्रवक्ता नारायणकाजी श्रेष्ठले गरे। सरकारले कुनै पनि राजनीतिक दल विभाजनमा ४० प्रतिशत केन्द्रीय समिति या संसदीय दलमध्येबाट पुग्नुपर्ने भनी अप्रासंगिक बेला अध्यादेश किन ल्याएको भन्दै नेपालनिकट नेताले यसमा पनि छलफल गर्न पाउनुपर्ने माग राखे।

    अनेक माग थपिन थालेपछि दाहालले एजेन्डा थपघटमा सहमति जनाए। ‘फ्लोर’बाट लगातार आएको प्रस्तावले शीर्ष नेता अन्ततः एजेन्डा हेरफेरका लागि तयार हुनुपरेको थियो। रूकुमको चौरजहारी घटना, नागरिकता र सांसदको भत्ता कटौतीको विषयलाई विविध एजेन्डामा छलफल गर्ने गरी सरकारको काम र पार्टी कामलाई अलग–अलग एजेन्डामा छलफल गर्ने एजेन्डा बैठकले पारित गरेको थियो।

    सरकारको कामको समीक्षामा कोभिडको छुट्टै एजेन्डा र सीमा समस्या र समाधानको पनि छुट्टै एजेन्डा बनाउनुपर्ने, सरकारको कामको समीक्षामा समग्र विषयमा छलफल गर्नुपर्ने मागपछि बैठकले ती विषयलाई छुट्टै एजेन्डा बनाउने निर्णय लिएको हो। सरकारको कामको समीक्षामा भने अध्यादेशदेखि औषधि खरिद प्रकरणमा ओम्नी समूहका भ्रष्टाचार काण्डबारे प्रश्न उठाउने गरी एजेन्डा तय भएको एक नेताले बताए।

    पहिलो एजेन्डाका रूपमा दुई अध्यक्षको सम्बोधनको बैठकमा पालो आएको थियो। ओलीले सुरुमा सम्बोधन गरे भने त्यसपछि दाहालले। प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले सकारात्मक सन्देश जाने गरी स्वस्थ, आलोचनात्मक र जिम्मेवारीपूर्ण ढंगले बैठकमा आफ्ना धारणा राख्न नेताहरूलाई आग्रह गरे। दाहालले नेताहरूको आदतदेखि कमीकमजोरी सच्याउने विषयसम्म छलफल गरेर जानुपर्ने गरी धारणा राखे। -अन्नपूर्ण अनलाइनबाट

    प्रतिक्रिया दिनुहोस